aandhikhola Gaunpalika

माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्न बाली उत्पादनमा ह्रास आएपछि आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण सप्ताह शुरु गरेको छ ।

गाउँपालिकाले ६ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरेर माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षणको नतिजा अनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले कृषकको जमिनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी दिनुभयो ।

दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गरिने अध्यक्ष पौडेलले बताउनुभयो । माटो परिक्षण पश्चात आवश्यक अनुसार कृषकलाई सहयोग गरिने अध्यक्ष पौडेलको भनाई रहेको छ । सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब ६०० कृषकको माटो परीक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको भनाई रहेको छ । उहाँले व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्ने बताउनुभयो । प्रमुख प्रशासकीय पौडेलका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडा वासीलाई जानकारी गराएपछि नमुनाका रूपमा माटो परीक्षण गर्न पठाएका हो । माटो परिक्षण कार्य माघ ११ गते सम्म संचालन हुने आँधिखोला गाउँपालिकाले जानकारी दिएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *